काठमाडौं । समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।
गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए ।
उनका अनुसार लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ । मृतकका आफन्तसमेत रहेका स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन ।