काठमाडौं । मुस्ताङको कोरला नाका यही कात्तिक २७ गतेबाट सञ्चालनमा आउने भएको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङका अनुसार चिनियाँ पक्षबाट कात्तिक २७ गते नाका सञ्चालनमा आउने जानकारी आएको बताए।
सरकारले लामो समयदेखि कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो। नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल चीन सिमानाका सञ्चालनमा ल्याउने सहमति भएको थियो।
२०७६ मा नेपालमा कोरोना महामारी फैलियपछि चीनले कोरला नाका पूर्ण रुपमा बन्द गरेको थियो।
नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन प्रवेश अनुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
प्रवेश पास भएका नागरिकले कात्तिक २७ पछि जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।