काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गतको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो।
नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ५२ रन बनाए।
नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको हो।
यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनले पराजित हुँदा समूह विजेता बन्ने अवसर गुमाएको थियो।
नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुल पाँच खेल भएका छन्। नेपाल तीन र ओमान दुई खेलमा जित निकाल्दा पछिल्लो पटक टियू मैदानमा नै नेपाल ओमानसँग हारेको थियो।