काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ।
तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौं लगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।
उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन(कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११:४८ मा गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको निधन भइसकेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।