विराटनगर । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गरेका हुन् । असोज २८ गते नियुक्त हुनुभएको मुख्यमन्त्री कार्कीले २० दिनपछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ । यद्यपि यस विषयमा मुख्यमन्त्री कार्यालय र सम्बन्धित दलहरुले भने औपचारिक जानकारी दिइसकेको छैन ।
नेकपा (एमाले)को समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई सरकारमा गठबन्धनलाई सहभागी नगराउन नेकपा एमालेको दबाब छ । यद्यपि मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाएर स्थायित्व दिनुपर्ने भन्दै गठबन्धनलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।