काठमाडौं । एनआरएनएका अध्यक्ष बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएपछि ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन् ।
एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार गरेका थिए । भने ओम शर्मामाथि कुटपिट गरेको उनीहरुको दाबी छ । संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए ।
एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन ।
महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ई–भोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् ।
कुटपिटपछि शर्मा उपचाररत छन् । आरके शर्मा निकटका एक समूह प्रहरीमा आएर मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ ।