काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।
चितवनको भरतपुर महानगरपालिका १ मा धन्वन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी तथा उनको छोराको हत्या तथा अपहरणको धम्की दिँदै २५ लाख रुपैयाँ फिरौती माग गर्ने रामचन्द्र थापा पक्राउ परेका हुन्।
कयौँपटक थुप्रै केसमा मुद्दा दर्ता भएका थापालाई राष्ट्रपतिले गत जेठमा आममाफी दिएका थिए। डाँका कसुरमा उनलाई अदालतले ९ वर्षको कैद सजाय दिएकामा राष्ट्रपतिले आममाफी दिएका थिए।
चितवन प्रहरीका डिएसपी विजयराज पण्डितका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट हिन्दी भाषा प्रयोग गरी धम्क्याएका थिए। २५ लाख रुपैयाँ माग गर्दै उनले अन्यथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए। उनले सोही रकम बुझाउने क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो।
थापाबिरुद्ध चोरी, डाँकासम्बन्धी कसूर, लागूऔषध लगायतका मुद्दा चलेको प्रहरीले जानकारी दिएको छ।
थापालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ।