काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्ना बियरले घोषणा गरेको पुरस्कार अन्तर्गत सबैभन्दा धेरै रकम जित्नेमा कुशल मल्ल देखिएका छन् । उनले कुल २ लाख ५४ हजार रुपैयाँ जितेका छन्।
मल्लले ६५ रन बनाउँदा ६५ हजार र २ चौकाबाट २० हजार, ७ छक्का १ लाख ४० हजार पाएका हुन्। बलिङतर्फ ४ डटबलबाट ४ हजार पाए। यस्तै, उनले एक क्याचबाट २५ हजार पाउँदै कुल २ लाख ५४ हजार हात पारेका हुन्।
ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा ४३ हजार, ४ चौकामा ४० हजार र ४ छक्का हान्दै ८० हजार पाए। भुर्तेलले २ क्याचबाट ५० हजार पाउँदै कुल २ लाख १३ हजार पाए।
आशिफ शेखले ३२ रन बनाउँदा ३२ हजार, १ चौकामा १० हजार र २ छक्काबाट ४० हजार पाएका छन्। उनले दुई स्टम्पिङबाट २५ हजार पाउँदै कुल १ लाख ७ हजार पाए।
रोहित पौडेलले २ रन बनाउँदा २ हजार, १ विकेटबाट २५ हजार र ४ डटबलबाट ४ हजार पाएका हुन्। त्यस्तै, एउटा क्याचबाट २५ हजार पाउँदै कुल ५६ हजार पाए।
सन्दिप जोराले १८ रन बनाउँदा १८ हजार, २ चौकामा २० हजार प्राप्त गर्दै कुल ३८ हजार पाए। विबेक यादवले २ रन बनाउँदा २ हजार पाए।
करन केसी ५ डटबलबाट ५ हजार, स्टम्पिङबाट १२ हजार ५ सय गरि कुल १७ हजार ५ सय पाए। सोमपाल कामीले २ हजार पाए।
अभिनाश बोहोराले ४ विकेटबाट १ लाख र ३ डटबलबाट ३ हजार गरी १ लाख ३ हजार पुरस्कार पाएका छन्। सन्दिप लामिछानेले १ विकेटबाट २५ हजार र ८ डटबलबाट ८ हजार गरी ३३ हजार पाए।
गुल्सन झाले १ विकेटबाट २५ हजार, ६ डटबलबाट ६ हजार र स्टम्पिङबाट १२ हजार ५ सय गरी ४३ हजार ५ सय पाएका छन्।
मलेसियाविरुद्धको खेलमा कुल गरी ८ लाख ६९ हजार रुपैयाँ अर्ना बियरले पुरस्कारमा खर्चिएको हो।
नेपाली क्रिकेट टोलीको हौसला बढाउन अर्ना बियरले विभिन्न पुरस्कार घोषणा गरेको थियो। सोमबारबाट सुरु भएको टी–२० विश्वकप क्वालिफायरका लागि अर्ना बियरले विभिन्न पुरस्कारहरू घोषणा गरेको थियो।
खेलमा नेपाली टोलीका खेलाडीलाई प्रति विकेट २५ हजार रुपैयाँ दिने अर्ना बियरले बताएको छ। त्यस्तै प्रति मेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना घोषणा गरेको हो।
प्रति डटबल १ हजार रुपैयाँ दिने समेत आइतबार एक सूचनामार्फत बियर कम्पनीले जनाएको छ। नेपाली टिमको ब्याटिङतर्फपनि हरेक १ रनको १ हजार दिने बताएको छ भने कम्पनीले प्रतिछक्का २० हजार, प्रतिचौका १० हजार दिने घोषणा गरेको हो। त्यस्तै क्याच गर्नेलाई २५ हजार दिने पनि कम्पनीले उल्लेख गरेको छ।