बागलुङ । गोठमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावले मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरागाउँ छापाखानीकी ३२ वर्षीया रीता रोका छिन् । उपचारका लागि स्वास्थ्य चौकी लैजाँदा उनको बाटैमा मृत्यु भएको हो ।
गत मंगलबार राती ९ बजे गोठमा सुत्केरी भएर छोरीलाई जन्म दिएकी रोकाको रक्तश्राव रोकिएन । परिवारका सदस्यले छिमेकीलाई खबर गरे ।
रक्तश्राव रोक्न कुनै उपाय नलागेपछि एक घण्टा परकी महिला स्वास्थ्य स्वयंसेविकालाई बोलाइयो । उनले तत्काल स्वास्थ्य संस्थामा लैजान पहल गरेकी थिइन् । रातको साढे २ बजे बोहोरागाउँ स्वास्थ्य चौकी पुर्याउँदा रोकाको स्वास्थ्य जटिल भइसकेको थियो ।
स्वास्थ्य चौकी इन्चार्ज कसिन्द्र शाहीले रक्तचाप र पल्स समेत नदेखेपछि आफैंले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । बिहान साढे ४ बजे केन्द्र पुग्दा रोकाको मृत्यु भइसकेको थियो ।