काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरि ब्याजदर संशोधन गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ ।
सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् ।
साउनमा कर्जाको माग ठप्प भए पनि भदौ लागेपछि केही बढेको छ । भदौ र असोजमा करिब १ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । तर, यो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो । अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ ।
कसले कति घटाए ?
बैंक | २०८० असोज | २०८० कात्तिक |
हिमालयन बैंक | ११.०५४ | ११.००३ |
एनआईसी एशिया बैंक | १०.८९६ | ११.००३ |
एनएमबि बैक | ९.९९ | ११.००३ |
नेपाल एसविआई बैंक | १० | १०.७ |
प्राइम कमर्सियल बैंक | ११.३५८ | १०.२५ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ११.०३ | १०.०१ |
कुमारी बैंक | १०.११ | १०.०१ |
नबिल बैंक | ११.०५४ | १० |
ग्लोबल आईएमई बैंक | १०.५ | १० |
लक्ष्मी सन्राइज बैक | १० | १० |
माछापुच्छ्रे बैंक | ९.९९ | ९.९९ |
सिद्धार्थ बैंक | ९.९९ | ९.९९ |
सिटिजन्स बैंक | १०.०५ | ९.९५ |
कृषि विकास बैंक | १०.०११९ | ९.७६१९ |
राष्ट्रिय वाणिज्य बैंक | ९.५ | ९.५ |
एभरेष्ट बैंक | ११.०५४ | ९.२२४ |
नेपाल बैंक | ९.२९३ | ९.२२४ |
प्रभु बैंक | १० | ९.२२४ |
सानिमा | ९.९५ | ९.२२४ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ९.२९ | ९.२२ |