बागलुङ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिन सक्ने भन्दै बडिगाड गाँउपालिको बजार अनुगमन थालेको छ ।
दशैं तिहार नजिकिँदै गर्दा पालिकाले सोमबारबाट मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका पसलको अनुगमन गरेको हो । सोमबार वडा नं ५ को खौलार बजार र वडा नं २ को खर्बाङ बजारमा रहेका पसल तथा मंगलबार आज भिमगिठे बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको हो ।
गाउँपालिकाले किराना, औषधि, लत्ताकपडा, माछामासु, तरकारी तथा फलफूल लगायतका सयभन्दा बढीथोक तथा खुद्रा पसलमा अनुगमन गरेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए ।
अनुगमनका क्रममा अधिकांश किराना पसलहरुमा म्याद गुज्रेको सामग्रीहरु फेला परेको बताउँदै भण्डारीले मुल्यसूची नराखेको, पसल दर्ता तथा नवीकरण नभएका र पसलहरुमा साईनबोर्ड नभएकोलगायतका समस्याहरु भेटिएको बताए ।
यस्तै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले भने जरिवाना असुल्ने नभइ बजार अनुगमनका क्रममा भेटिएका कमजोरीहरुलाई सुधार गर्न बजार अनुगमन गरिएको जानकारी दिइन् ।
अनुगमनका क्रम्मा पसलहरुमा भेटिएका कमजोरीहरुमा पहिलोपटक सुझाव दिएको तर अर्को पटकको अनुगमनका क्रममा पनि सोही कमजोरी भेटिए गाउँपालिकाले जरिवाना सहितको कारवाही गर्ने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।
‘बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु भएको हैन,’ अध्यक्ष अधिकारीले भनिन्,‘बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरहीन वस्तु विक्री वितरण गरी उपभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउन र चाडपर्वमा पालिकाबासीहरु नठगिऊन् भन्नका लागि बजार अनुगमन सुरु गरिएको हो ।’
बजार अनुगमनमा भेटिएका म्याद गुज्रेका सामाग्रीहरु व्यापारीले १ हप्ता भित्र फिर्ता गर्नका लागि जफत नगरिएको र पुन: १ हप्तामा नगरप्रहरीसहितको टोलीले सम्बन्धित पसलका उक्त सामग्रीको अनुगमन गर्दा पनि सोही अवस्थामा भेटिए कारबाहीसहित म्याद गुज्रेका सामाग्री जफत गरिने गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताए ।अनुगमनमा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी सहित कर्मचारीहरु र नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।