वीरगञ्ज । गत शुक्रबार आफ्नै घरमा मृत फेला परेकी वीरगञ्ज–१ छपकैयाकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले सर्राफको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाकै २५ वर्षीय इमरान मियाँलाई पक्राउ गरेको हो। पक्राउ परेका मियाँलाई आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो।
पक्राउ परेका मियाँ शुक्रबार राति २ बजे सर्राफको घरमा चोरी गर्न गएको बेलामा सर्राफले देखेपछि पोल खुल्ने डरले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
मियाँ लागुऔषध दूर्व्यसनी रहेको समेत खुलेको प्रहरीको भनाइ छ। उनले चोरी गर्ने क्रममा सर्राफको टाउकोमा रड प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए।
प्रहरीले हत्यामा प्रयोग गरिएको रडसमेत बरामद गरेको उनले बताएको छ। पक्राउ परेका मियाँविरुद्ध अदालतबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको शाहले बताए।