ढोरपाटन । गत जेठमा लेक चढेका भेँडीगोठ धमाधम बेँसी झर्न थालेका छन्। लेकबाट भेँडीगोठ बेँसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेँडाबाख्राका बथानले भरिएका छन्।
लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेँडीगोड बेँसी तिर सारिएको हो। जेठ पहिलो सातादेखि नै लेक उक्लिएका भेँडीगोठ असोज पहिलो सातादेखि बेँसी झर्न सुरु गरेका हुन्। बर्खामा बेँसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेँडी गोठाले हरेक वर्ष लेक–बेँसी गर्ने गर्छन्।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेँसी गर्नु परम्परा नै हो। एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेँडा पाल्दै आएका छन्। गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेँसी झर्ने गर्छन्। बेँसीमा भन्दा बुकीमा भेँडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ। यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेँडाका बथान भेटिन्छन्। यो समय भेँडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेँसी झरेर बजार तिर लाग्ने गर्छन्।
बेँसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेँडाबाख्रा बेच्न जान्छन्। यहाँबाट भेँडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन्।
गत वैशाखमा परेको बेमौसमी हिमपातले भेँडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। चैतको अन्तिम साता लेकमा भेँडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेँडा मरेको बताए।
चिसोले भेँडाहरु मर्दा एक सातामै रु साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेँडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ। ‘चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेँसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेँडीगोठ तल झरिसक्छन्,’ उनले भने, ‘भेँडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ।’
भेँडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेँडा बेँसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए। असोज ११ मा बेँसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ। करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए। अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेँडा रहेको घर्ती मगरको भनाइ छ।
स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेँडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए। आफूहरुले धेरै भेँडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेँडागोठालेको सङ्ख्या घट्दै गएको बताए।
६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेँडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेँडा पालेको बताए। दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेँडापालनमा चासो नदिएको उनको भनाइ छ।