मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना स्कुले बालकको मृत्यु भएको छ। काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा २ जना बालकलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए। घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।