काठमाडौं । पद्यमकन्या क्याम्पसले वीएचएम कार्यक्रमलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमको रुपमा सञ्चालन गर्ने भएको छ । यसै शैक्षिकसत्रबाट क्याम्पसले वीएचएम कार्यक्रमलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमको रुपमा सञ्चालन गर्ने भएको हो ।
आज पत्रकार सम्मेलन गर्दै क्याम्पसले यसै सत्रदेखि वीएचएम कार्यक्रमलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमको रूपमा संचालन गर्ने तयारी रहेकाे जनाएको छ ।
विद्यार्थीलाई हप्तामा पाँच दिन कक्षा कोठामा पढाउने र बाँकी दुई दिन काठमाडौंका पाँचतारे होटेलमा सहभागी गराउने योजना रहेको वीएचएम कार्यक्रमका निर्देशक उपप्रध्यापक उमेश रेग्मीले जानकारी दिए ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई यसै वर्षदेखि सञ्चालन गर्दैछौं,’ निर्देशक रेग्मीले भने, ‘विद्यार्थीका लागि काठमाडौंका द—सोल्टी होटेल जस्ता होटेलहरुसँग प्रक्रिया अगाडि बढाएका छाैं ।’
वीएचएम कार्यक्रमका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा अन्तर्गत आधारभूत तहको चिनियाँ भाषा कक्षा सञ्चालन गरिने उनको भनाइ छ । कन्फ्यूसियस इन्स्टिच्यूट चीन र त्रिविसंगको सहकार्यमा चिनियाँ भाषा सञ्चालन गरिनेछ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा होटल म्यानेजमेण्ट (वीएचएम) को पठनपाठन हुँदै आएको छ । होटल तथा पर्यटन व्यवसायका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले २०७६ सालदेखि पद्मकन्या बहुमुखी क्याम्पसमा वीएचएम कार्यक्रम शुरु गरिएको हो ।
वीएचएम कार्यक्रमले होटल व्यवस्थापन, पर्यटन व्यवस्थापन एवम् अतिथि सत्कारसँग सम्बन्धित गहन एवम् व्यावहारिक ज्ञान प्रदान गर्दै आइरहेको छ ।
क्याम्पसले नेपालमै पहिलो पटक आफ्ना प्रथम समुहका विद्यार्थीहरुलाई आफ्नै सञ्जालको माध्यमबाट पत्राचार गरी नेपाल, दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन सफल भएको क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानले बताइन् ।
उनका अनुसार क्याम्पसले विदेशमा इन्टर्नशिपका लागि पठाउँदा प्रतिविद्यार्थी ७५ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएकाे छ । अन्य खर्च भने नियमानुसार विद्यार्थी स्वयंले बेहोरेका छन् ।
प्रेस विज्ञप्ति