काठमाडौं । देशको पूर्वी झापा, मोरङ, सुनसरी, इलामलगायत क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पूर्वी क्षेत्रमा धेरै परेको छ मौसमविद् गोविन्द झाले जानकारी दिए । यसकै कारण बिहानैदेखि त्यस क्षेत्रमा पानी परिरहेको छ ।
आज अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यी क्षेत्रमा दिउँसोपछि र रातिको समयमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद् झाको आग्रह छ ।
पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार दिउँसोपछि काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।