काठमाडौं । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ। कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अहिलेसम्म कुनै घटना नघटेको भएपनि घट्न सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको यादवले बताए।
सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवामा शुक्रबर साँझ दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले अश्रग्यास र एक राउन्ड हवाइ फायर समेत गरेको थियो।
शनिबार बिहानैदेखि पनि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। लगत्तै स्थानीय प्रशासनले थप सुरक्षा बढाएको थियो।
सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव राख्न अपिल गरिएको सीडीओ यादवले बताए।