रुकुम । रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ।
चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो । रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए ।
‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो। स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने, ‘दाजुबहिनी नै सोझा थिए। खहरेमा भेल आउँछ भन्ने हेक्का नै भएन। बगाए छ। उनीहरूको शव हिजै फेला परिसकेको छ।’
हावाहुरीले चौरजहारी नगरपालिकाका अधिकांश वडामा क्षति पुर्याएको उनले बताए। घरका छाना उडाउनुका साथै भित्र्याउने बेला भएको मकै, तिल आदि बालीमा पनि व्यापक क्षति पुर्याएको थियो।
हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए।
विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए।