काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत १३७ जना कर्मचारीहरुले सामूहिक सरुवा माग गरेका छन्। काम गर्ने वातावरण नभएको भन्दै अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले भन्सार विभागसँग अन्यत्रै सरुवामा माग गरेका हुन्। मंगलबार विभागका प्रमुखलाई सम्बोधन गरी बुझाइएको सामूहिक सरुवा पत्रमा उनीहरुले विमानस्थलमा काम गर्न कठिन भएको जनाएका छन्।
सुन तस्करी काण्ड बाहिरिएपछि आफूहरु मानसिक तनावमा परेको र काम गर्ने वातावरण नै नभएको भन्दै सुरुवा माग गरेका हुन्।
सुन तस्करी काण्ड सार्वजनिक भएपछि सिआइजीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममामा कर्मचारीहरुलाई पनि छानबिनको दायरामा ल्याएपछि कर्मचारीहरुले सामूहिक सरुवा माग गरेका हुन्।
उनीहरुले पत्रमा भनेका छन्, ‘घटनामा दोषी जो कोहीलाई कानून बमोजिम काबारही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यकरूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुस्ख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ।’
कर्मचारीहरुले यात्रुबाट समेत दुव्र्यवाहार सहनु परेको गुनासो गरेका छन्। भनेका छन्, ‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं। कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा हुने दुव्र्यवहार र अपशब्दको त कुनै सीमा नै छैन।’