सुर्खेत । आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।
अपराह्न चार बजेपछि उनी सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए
एकाएक सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्ने र खोजी कार्य जारी रहे पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए ।
पण्डित काठमाडौँको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थियो । त्यसपछि पीओसोलाई भो पर्दैन भनेर फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको कुरा बुझिएको पोखरेलले बताए । त्यसपछि उहाँ सम्पर्कमा छैनन् ।
‘पण्डितले पीओसोलाई छाडेको, गुल्मको आफ्नो गाडी नलिएर अर्को गाडी रिजर्भ किन छाड्नुभयो, हामी पनि अचम्ममा छौँ,’ उनले भने । परिवारबाट पनि त्यस्तो खालको समस्या भएको कुरा अहिलेसम्म नआएको पोखरेलले बताए ।