काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आइतबार पनि अन्तिम बहसका लागि पेशी तोकिएको छ। उनको मुद्दाको पेशी आज पाँचौं नम्बरमा रहेको छ।
यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी रहेको थियो। राजुकुमार खतिवडाको इजलासले उनको मुद्दाको अन्तिम सुनुवाइ भने सुरु गरेका थिएनन्। न्यायाधीश खतिवडाले आमाको मिति प्रमाणीकरण गर्न आदेश गरेका थिए।
न्यायाधीश खतिवडाको आदेशअनुसार उनको मिति प्रमाणीकरण भएर अदालतमा आइसकेको छ । साथै अन्य आवश्यक कागजातहरूसमेत अदालत आइपुगेकाले आइतबारका लागि अन्तिम सुनुवाइ तोकिएको हो।
यसअघि पनि पटकपटक अन्तिम सुनुवाइ सुरु हुन नसक्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन। सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा धकेलिइ रहेको छ।
यसैबीच एसिया कपका लागि सन्दीप आजको बहशपछि आजै राति या भोलि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने तयारी गरेका छन्।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आजको बहसपछि उनी आजै राति या भोलि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने बताए।