काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।
उनले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गरे ।
त्यसैगरी सभामुखले समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए । प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।