काठमाडौं । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको थियो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२, चुरियामाईमा भएको बस दुर्घटनाका मृतकहरूको सनाखत भएको छ। तीर्थयात्री बोकेको बस मकवानपुर र बाराको सिमानामा दुर्घटना हुँदा ६ भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीया श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र महोत्तरीको लोहारपटी नगरपालिका(५ बस्ने ४१ वर्षीय विजयलाल पण्डित रहेका छन्।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको थियो।
यस्तै दुर्घटनामा परी १७ जना घाइते पनि भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये १४ जनाको हेटौंडा अस्पतालमा, एक जना चुरेहिल अस्पताल हेटौंडामा, एक जनाको सन्चो अस्पताल हेटौंडा र एक जनाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइहेको छ।
प्रहरीका अनुसार चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका एक जनाको अवस्था गम्भीर रहेको छ। यस्तै, हेटौंडा अस्पतालमा उपचारत दुई जना भने डिस्चार्ज भएका छन्।
बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।