विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ । गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख एमालेकी सृजना दनुवार छिन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । भदौ १ गतेबाट उनले प्रदेशसभा बैठक बोलाएका छन् ।उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।
उपसभामुखले राजीनामा दिए प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित मण्डललाई गठबन्धनकाले मन्त्री बनाउन लागेको हो । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग कठिन बहुमत ४७ नै सांसद छन् । विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन् ।