बैतडी । महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन । अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिए ।