काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारविरुद्ध सरकारले एकपछि अर्को प्रभावकारी अनुसन्धान गरेको विषयलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा पौडेलले महत्वपूर्ण विषयमा छानबिन हुँदा विरोध गरेर विषायान्तर नगर्न पनि प्रतिपक्षसँग आग्रह गरेका छन् । ‘३३ किलो सुनको प्रसंग पहिलो आएको थियो । योभन्दा पहिले पनि सरकार थियो । गृहमन्त्री हुनुहुन्थ्यो । सुनको व्यापार त भइरहको रहेछ । यही सरकारले खोजेर एक सय किलो सुन तस्करीको यो प्रकरणमाथि अनुसन्धान अगाडि बढाएको छ ।
यो प्रकरणलाई स्वागत गर्न सहयोग गर्न तपाईंहरूलाई केले छेक्यो ? राम्रा कामलाई राम्रो भन्न किन नसकेको हो ?’ उनले भने, ‘पहिले घोटालाका विषय आउँदा छानबिन अगाडि बढाउनुभयो ? सरकारले दृढतापूर्वक अगाडि बढाएको छ । छानबिन गरिरहकेो छ। यसको निष्कर्ष आउन्जेल कुरौं अन्य निकायले गरिरहेको कामलाई विश्वास गर्न प्रतिपक्षलाई आग्रह गर्छु ।’
राम्रोलाई राम्रो भन्न सिक्नुपर्ने भन्दै उनले प्रतिपक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘सरकारले भ्रष्टाचार, अनियमिततासँग सम्बन्धित विषयमा अघि बढाएको छानबिनलाई सांसदले धन्यवाद दिनुपर्छ र रचनात्मक सुझाव दिनुपर्छ । सबै कुरामा डिस्टर्ब गर्दा राज्य अगाडि बढ्न सक्दैन,’ पौडेलले भने ।