काठमाडौं । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। बैठकको गतिरोध हटाउन सोमबार सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरूसँग छलफल गरेका थिए। सहमति नजुटेपछि तीन दलका शीर्ष नेताको बैठक अपरान्ह ३ : ३० बजे पुनस् बस्नेगरी स्थगित भएपछि प्रतिनिधिसभा बैठक ४ बजेलाई सारिएको हो।
सिंहदरबास्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ। उक्त मागमा सत्तापक्षले असहमत जनाएपछि बैठक बस्न नसकेको हो।