काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो ।
अब अर्को बैठक बुधबार अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटकपटक आग्रह गरे पनि एमाले सांसदले उठेर विरोध जनाइरहे ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची थियो । विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधानअनुसार ‘बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ पेस गर्ने कार्यसूची पनि थियो ।