काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका हुन् । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए । सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए ।
यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गरेका । फरक प्रसङ्गमा उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारेका छन् ।