काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।
एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले संसद् बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने उनको भनाइ छ । राष्ट्रिय सभामा एमालेको तयारी चल्न नदिने हो । सुन तस्करीमा उच्चस्तरीय समिति बनाउ भनेर सरकारलाई भनेको हो । यो बनाउन सरकार किन खुट्टा कमाइरहेको छ । उनले भने, उच्चस्तरीय समिति नबनुन्जेल संसद् चल्दैन । राष्ट्रिय सभा पनि चल्दैन ।