काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। बुधबार आयोजित एक समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
यससँगै बुधबार तीन जना मन्त्री पनि नियुक्त भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट बाबुराम गौतम, नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू मन्त्री नियुक्त भएका हुन्। गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले मंगलबार प्रदेश सभामुखबाट राजीनामा दिएका थिए।
त्यस्तै, कांग्रेसका सुनुवार खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री बनेका छन्। एकीकृत समाजवादीका जबेगूले सडक पूर्वाधार तथा भौतिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त तीनै जना मन्त्रीले पनि बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी भएको छैन। कोशी प्रदेश नामकरणको विरोध गर्दै जसपा यसअघि पनि सरकारमा सहभागी थिएन। अहिले पनि पुनर्नामकरण गर्नुपर्ने माग दोहोर्याएको छ।