काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङमा विष सेवन गरेका कटहरी गाँउपालिकाका मिटरब्याजपीडित विनित सोनारको मृत्यु भएको छ। बुधबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए।
सोनारको उपचार नोबेल शिक्षण अस्पतालमा हुँदै आएको थियो। साउन ७ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा मिटरब्याजसम्बन्धी छलफलमा सहभागी भएर फर्कने क्रममा करिब ३२ वर्षीय सोनारले विष सेवन गरेका थिए। छलफल सकेर कार्यालय बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गरेपछि सोनारले विष सेवन गरेका थिए। विष सेवन गरेका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो।
सोनारले डा. नितेश तिवारीसँग ७ लाख रुपैयाँ, प्रदीप भुजेलसँग २ लाख, र विनोद ढकालसँग ६ लाख रुपैयाँ लिएका थिए। भुजेल र ढकालले चेक बाउन्स भएको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। सोही जाहेरीका आधारमा सोनारलाई पक्राउ गर्न प्रहरी प्रशासन कार्यालय पुगेको थियो।
त्यसैगरी, डा.तिवारीले ७ लाखबाट एकाएक बढाएर १५ लाख रुपैयाँ माग गरेको सोनारकी श्रीमती रीता सोनारले जनाएकी छन्। रीताले डा.तिवारीविरुद्ध मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन्। सोही विषयमा छलफलका लागि सोनार प्रशासन कार्यालय पुगेका थिए। सो क्रममा सोनारले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका हुन्।