काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सदनलाई गराउने कार्यसूची छ ।
यस्तै, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइनेछ । साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेस गर्ने तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने कार्यसूचीलाई यथावत् राखिने संसद् सचिवालयले जनाएको छ ।
सोमबार एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँसेर स्थगित गरिएको थियो । एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई दिएको थियो ।