मकवानपुर । मकवानपुरको मनहरीमा आइतबार राति ट्रकसँग मोटरसाइकल ठोक्किएर भएको दुघर्टनामा गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका– ९ का २२ वर्षका मोटसाइकलचालक शम्भु गिरी र मोटरसाइकलको पछाडि सवार २१ वर्षका सुशील गिरी रहेको मकवानपुर प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ९ स्थित ज्यामिरे सडकखण्डमा बिग्रिएर रोकिराखेको ना.५ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना।५७प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा गिरीद्वय गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते दुवैजनाको मनहरीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो। उनीहरूको उपचारको क्रममा आइतबार राति नै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले जानकारी दिए। ट्रकका चालक भने सम्पर्कमा नरहेको प्रवक्ता कार्कीले बताए।