धनुषा । महोत्तरीको खैरबनीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सोनमा गाउँपालिका वडा नं ५ खैरबनी स्थित पोखरीमा शनिबार दुई बालिका मृत फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
सर्लाहीको गोडैता नगरपालिका– ९ का महेश मलिक डोमकी ४ वर्षीया छोरी चञ्चलाकुमारी र भारत, विहार राज्यको जिल्ला सितामढी रामनगर, पाखरग्रामका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चनाकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै बालिकाको पोखरीमा डुबेर मृत्युु भएको प्रहरी निरीक्षक यादवले बताए ।अर्चना र चञ्चला दुवैजना आमासँग मामाघर खैरबनीमा लाग्ने गेरुका मेला हेर्न आएका थिए । शनिबार दिउँसोदेखि दुवै बालिका हराएका थिए । रामविनय यादवको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको अवस्थामा शव फेला परेको हो । दुवै बालिका नुहाउने क्रममा पानीमुनि हिलोमा गाडिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।