काठमाडौं । होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलले लगाएको सुनको सिक्री होटलको भान्छा कोठामा फेला परेको छ । सोमबार राति होटलमा मृत फेला परेका पौडेलको सुनको सिक्री होटलको भान्छा कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
‘इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका छौं’ उनले भने, ‘पौडेलले लगाएको सुनको सिक्री होटलको भान्छा कोठामा फेला परेको छ ।’
इञ्चार्ज पौडेलको हत्यामा संलग्न रहेकाे अाराेपमा प्रहरीले आशा होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार वरिष्ठ सई पौडेल सोमबार राति ८ बजेतिर आशा होटल एण्ड खाजा घरमा गएका थिए । उनका अनुसार पाैडेलकाे खाजा घरकी सञ्चालक आशा कुँवरसँग विवाद थियाे ।
‘विवादका क्रममा आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको देखिएकाे छ,’ डीएसपी केसीले भने, ‘कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति २ : ३० बजेको समयमा हत्या गरिएको पाइएकाे छ ।’
मङ्गलबार साँझ परीक्षणको लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको शव पोखरा पठाइएको छ । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएपछि बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको हो ।