काठमाडौं । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन मगर सामाखुसी खोलाले बगाएर बेपत्ता छन् ।
उनको खोजी भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार घटनालगत्तै प्रहरी वृत्त महाराजगन्ज, वृत्त बालाजु, वृत्त लैनचौर, प्रभाग बसपार्क, तिलिंगेटालगायतका प्रहरी इकाईबाट प्रहरी खटिई खोजतलास तथा उद्धार कार्य सुरु गरिएको थियो ।
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको थप प्रहरी परिचालन गरी चोभारसम्म खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता बालकको खोजीका लागि सोमबार बिहानैदेखि प्रहरी वृत्त महाराजगन्ज, बालाजु, लैनचौर, जनसेवा, स्वयम्भू, कालीमाटी, कीर्तिपुर र प्रहरी प्रभाग गोंगबुलगायतको प्रहरी टोली खोला किनारामा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सोमबार अबेरसम्म पनि बेपत्ता बालक फेला नपरेपछि चोभारको ड्राइपोर्ट इलाकामा सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गणबाट खटिएको टोलीद्वारा खोजी भइरहेको एसएसपी मैनालीले बताए ।
खोटाङ घर भई काठमाडौं महानगरपालिका–३ रानीबारीमा बुबा मनोज मगरसँग साजन बस्दै आएका थिए । साजनकी आमा तारा मगर भने वैदेशिक रोजगारका क्रममा पोर्चुगलमा छिन् । छोरा खोलाले बगाएर बेपत्ता भएपछि बुबा मनोज विक्षिप्त छन् ।