काठमाडौं । नेपालले आईसीसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। गुलशन झा र सन्दीप लामिछानेको उत्कृष्ट साझेदारीसँगै उक्त योगफल तयार भएको हो। जिम्बावेको टाकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको हो।
नेपालका लागि अलराउन्डर गुलशन झाले तीन छक्का र चार चौकाको मद्दतले अविजित ५७ रन बनाए। मध्यक्रममाम बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै नेपाल इनिङ उकासेका थिए। कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रन बनाएर आउट।
उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा ह्यारी टेक्टरबाट क्याचआउट भएका हुन्। ओपनर अर्जुन साउद ८४ बलमा ४८ रन बनाएर बाहिरिएका थिए। ओपनर कुशल भुर्तेलले जम्मा ८ रन जोडे भने ज्ञानेन्द्र मल्लको खराब लय मंगलबारको खेलमा पनि कायम रह्यो।
कप्तान रोहित पौडेलले एक छक्का र दुई चौकाको मद्दतले ३५ बलमा २९ रन बनाए। यसैगरी भीम सार्की २० रनमा आउट भएका थिए। यसैगरी सन्दीप लामिछाने तीन चौका र एक छक्कासहित ३० बलमा ३२ रन बनाएर बाहिरिए। यूएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध खातासमेत नखोलेर बाहिरिए। आयरल्यान्डका लागि मार्क अदिर, बेरी म्याकार्थी र कारिग योङले दुई-दुई विकेट लिएका छन्।