काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले आफूविरुद्ध आक्रमण गर्नेमाथि मुद्दा फिर्ता लिएपछि धर्नामा बसेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत काठमाडौं परिसरबाट नियन्त्रणमा लिएका चलाउनेलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीसहित चलाउने काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका थिए।
अदालतभित्र नाराजुलुस गर्न थालेपछि चलाउनेसहित केही विद्यार्थीहरू प्रहरीले नियन्त्रणमा लिएको हो। समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो ।
आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । तर,गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।