विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीचको वार्ता सुरु भएको छ । विराटनगरस्थित बिग होटलमा वार्ता भइरहेको हो । वार्तामा सरकारका तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन् भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए ।
गत फागुन १७ गते बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखेपछि सो नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो । सो आन्दोलनका क्रममा एकजनाको मृत्युसमेत भएको थियो ।