काठमाडौं । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरू हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुँदैछ। एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ।
यद्यपी नेपालले जिम्बावेसँग पहिलोपटक भने खेल्न लागेको होइन। यसअघि नेपालले जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो।
विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ। आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ। एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।
प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो।
यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले युएईविरुद्धको पहिलो वार्मअप खेलमा पनि पराजय भोगेको थियो। ओमानविरुद्धको वार्मअप खेलमा भने नेपालले जित निकालेको थियो। ओमानविरुद्ध ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। नेपालका लागि जिम्बावेको कन्डिसनमा ब्याटिङ गर्न सक्ने अर्को चुनौती हुनेछ।
नेपाल र जिम्बावेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ। खेल नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ।
१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।