काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी मुद्दाको थुनछेक बहस सकिएको छ। मंगलबारदेखि सुरु भएको बहस आज बुधबार सकिएको हो।मंगलबार र बुधबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए। मंगलबार खाणको प्रतिरक्षामा १० जना वकिलहरुले बहस गरेका थिए। बुधबार पनि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत कानुन व्यवसायीले खाणको पक्षमा बहस गरेका छन्।
काठमाडौं जिल्ला अदालतले दिनमा औसत ३ जना प्रतिवादीको बहस टुंग्याउने गरी समय निर्धारण गरे पनि खाण एक्लैको प्रतिरक्षामा २ दिन लागेको थियो। खाणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका थिए। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार अधिवक्ताहरु शेरबहादुर केसी, पंकजकुमार कर्ण, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले खाणको प्रतिरक्षामा बहस गरेका थिए।
त्यस्तै बुधबार तीन जना कानुन व्यवसायीले बहस गरे। बार अध्यक्ष घिमिरेका अलावा वरिष्ठ अधिवक्ता ललित बस्नेत र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले खाणको प्रतिरक्षामा बहस गरेका थिए।