काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले इजरायलमा व्यवसायिक फुटबल खेल्ने भएकी छन् । सावित्राले इजरायली महिलाहरुको शीर्ष डिभिजनको लिग ‘लिगाट नसिम’ खेल्ने हापोएल रानानाबाट खेल्ने भएकी हुन् ।
हापोएल रानानाले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार सावित्रासँग सम्झौता गरेको जानकारी गराएको हो । यस सम्झौतासँगै सावित्राले आगामी सिजन इजरायलबाट खेल्ने पक्का भएको हो ।
भर्खरै सम्पन्न भएको भारतीय महिला लिगमा सावित्राले गोकुलम केरलाबाट खेल्दा १० खेलमै २९ गोल गरेकी थिइन् । उनी भारतीय महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेकी थिइन् । इजरायल एसियामा पर्ने भएपनि इजरायली क्लबहरुले सन् १९९१ बाट युरोपियन क्लब प्रतियोगिताहरु खेल्दै आएका छन् । १९९४ युईएफएबाट युरोपको पूर्ण सदस्यता पाएको थियो ।