धनकुटा। बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।
गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बेहुलीका बुबा आशिकले जानकारी दिए । धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उता बेहुलाकी आमा मैयाले पनि आफू निरक्षर रहेको र कसैले पनि विवाह गराउन नहुनेबारे जानकारी नगराउँदा यस्तो अवस्था आइपरेको बताउछिन् । आमा मैया र बाबु कृष्ण सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।