काठमाडौं । आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिए।
यसबाहेक दिउँसो कोशी प्रदेश, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्नु) रहने महाशाखाले जनाएको छ।
यस्तै राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्ज चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
यसबाहेक राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।