वीरगञ्ज । श्रीमतीमाथि शंका गर्दै आफनै २० दिनको नवजात छोराको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै २० दिनको छोराको हत्या गरेको आरोपमा बाराको देवताल गाउँपालिका-४ पिप्राढी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
नवजात छोराको हत्या गरी फरार रहेका अँसारीलाई काठमाडौँ प्रहरीको समन्वयमा गत बुधबार पक्राउ गरिएको थियो। काठमाडौँबाट पक्राउ परेका उनलाई बारा प्रहरीले सार्वजनिक गर्दै गत वैशाख २६ गते अस्पतालमा जन्मेको आफनो नवजात छोराको मुख थिचेर हत्या गरी अन्सारी फरार भएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।
बच्चा जन्मेको केही दिनपछि काठमाडौँमै बस्दै आएका अँसारी बारास्थित आफनो घरमा आएका थिए। सोहीक्रममा बच्चालाई घरका खाटमा राखेर श्रीमती बाहिर काम गरिरहेको बेलामा बच्चाको मुख थुनेर अन्सारी हत्या गरेका थिए।
सोक्रममा बच्चा रोएपछि उनकी श्रीमती कलमा खातुनले बच्चालाई हेर्न जाँदा बच्चा बेहोस भएको तथा उपचारको लागि अस्पताल लैजादा बच्चाको मृत्यु भएको थियो। बच्चाको शबलाई समाजिक रितिरिवाज अनुसार खाल्टो खनि परिवारले गाडेका थिए। अन्सारी काठमाडौँ फर्केर आफ्नी श्रीमती कलमालाई फोन गरि छोरालाइ मैले मारेको र तिमीलाई पनि मारिदिन्छु भनी धम्की दिएका थिए।
फोन रेकर्ड गरेर असारीकी श्रीमती कलमा प्रहरीमा जाहेरी दिएपछि अन्सारीलाई काठमाडौँ प्रहरीको समन्वयमा पक्राउ गरि ल्याइएको बाराका एसपी होविन्द्र बोगटीले बताए।
बच्चाको शवलाई प्रादेशिक अस्पताल कलैयाको चिकित्सकको सहयोगमा खाल्टोबाट निकालेर पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको बोगटीले बताए। पक्राउ परेका अन्सारीलाई कर्तव्य ज्यान मुद्दा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।