काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ ।
आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बसह सुरु भएको हो ।
अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ । अभियुक्तहरु केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ र ईन्द्रजीत राईको बहस सकिएको हो ।
अभियोगपत्रको क्रमअनुसार सुरु भएको बहसमा अब टोपबहादुर र उनका छोरा सन्दीप रायमाझी रहेको पालो छ । पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोराको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालसहितको टोलीले बहस गर्नेछ ।
टोपबहादुरले सहभियुक्त सानु भण्डारीबाट नेपाली नागरिकलाई भुटानी शरर्णार्थी बनाई अमेरिका पठाउन १ करोड ६० लाख लिएको अभियोगपत्रमा दाबी छ । त्यस्तै भण्डारीबाटै उनका छोरा सन्दीपले ४० लाख लिइको दाबी गरिएको छ ।
उनीहरूसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गराएको हो ।