काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहरामाथि हिरासतभित्र रहेका बन्दीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ । आफू मातहतका इन्स्पेक्टर प्रकाश पौडेललाई खटाएर उनले बन्दीहरूलाई निर्घात कुटपिट गराएको पीडितहरुले बताएका छन् । हिरासतभित्रै कुटिएका घाइते बन्दीलाई उपचारका लागि शीर मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ ।
केही समयअघि बनेपाको रोयल लन्चबारमा शुक्र लामाको समूह र युवाहरूबीच भएको सामान्य झडपलाई लिएर प्रहरीले कालीकुमार लामा, दिपेन्द्र नेपाली, रमेश शाही ठकुरी, दिपेन्द्र नेपाली, मनोज लामा र विजयी लामालाई पक्रेको थियो । सामान्य झडपमा शुक्र लामाको सेटिङमा आफ्ना आफन्तलाई मात्रै एकतर्फी पक्रेर ज्यान मार्ने उद्योगको मुद्दा चलाउन खोजेको र मुद्दा ठहर नहुने भएपछि प्रहरी लगाएर कुटपिट गरेको हिरासतमा रहेका बन्दीका परिवारको आरोप छ ।
स्रोतका अनुसार डिएसपी बोहरालाई केही राजनीतिक दलका नेताहरूले दबाब दिएपछि बन्दीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर उनले इन्स्पेक्टर पौडेललाई कुट्न निर्देशन दिएका थिए । यस विषयमा काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक चक्रराज जोसीसँग कुरा गर्दा उनले प्रहरीबाट कमजोरी भएको स्वीकार गरेका छन् ।