काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका तराइका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको महाशाखाले जनाएको छ। जसका कारण बुधबार पनि तराईका भूभागहरूमा तातो हावा (लू) चलिरहने महाशाखाले जनाएको छ।