काठमाडौं । बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएको भन्दै विपक्षी दलहरूले संसदमा विरोध जनाउने भएपछि प्रतिनिधि सभा बैठक सुरू भएन।
सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमा करको दर फेरफेरमा पूर्वनासु संलग्न गराइएको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।
आज पनि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध गर्ने बताएपछि बैठक सुरू नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
बैठक ११ बजेका लागि बोलाइएको थियो। ‘सभामुखले सचेतकहरूसँग छलफल गरिरहनुभएको छ, बैठकको कामकारबाहीमा अवरोध नहुने गरी संसदलाई नियमित कार्यसूचीमा कसरी लैजाने भनेर उहाँ कुराकानीमै हुनुहुन्छ,’ उनले भने।
प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।